पाथिभराको ७ करोडको सुनचाँदी बिक्रीमा, सुन मात्रै १७८.८२ तोला

काठमाडौं । पाथीभरा क्षेत्र विकास समितिले करिब ७ करोड रुपैयाँ बराबरको सुनचाँदी बिक्री गर्ने भएको छ । फुङलिङ नगरपालिका-४ ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले ६ करोड ९७ लाख ८७ हजार ७४४ रुपैयाँ बराबरको सुनचाँदी लिलामीमा बिक्री गर्ने भएको हो ।

समितिका अनुसार प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँका दरले १७८ तोला ८२ लाल सुन बिक्रीमा राखिएको छ । जस अनुसार ४ करोड ७२ लाख ४४ हजार २४४ रुपैयाँको सुन बिक्रीमा राखेको हो । 

यस्तै, प्रतितोला ४ हजार २५५ रुपैयाँका दरले ५ हजार २९८.१२ तोला चाँदी बिक्रीमा राखिएको हो । सो आधारमा सिमतिले २ करोड २५ लाख ४३ हजार ५ सय रुपैयाँको चाँदी बिक्री गर्ने भएको हो ।

सुन तथा चाँदी जेजस्तो अवस्थामा छन्, सोही अवस्थामा बिक्री गरिने भएकाले पुस २९ गतेभित्र उक्त सुनचाँदी खरिद गर्न इच्छुकले सिलबन्दी बोलपत्र पेस गर्नुपर्ने समितिले जनाएको छ 

बोलपत्र साथ कबोल गरेको कुल रकमको १० प्रतिशतले हुन आउने रकम पाथीभरा क्षेत्र विकास समितिको बैंक खतामा धरौटी रकम जम्मा गर्नुपर्नेछ । बोलपत्र स्वीकृत भएको जानकारी ३ दिनभित्र सम्झौता गर्नुपर्नेछ । अन्यथा बोलपत्र रद्द गरी धरौटी बापत जम्मा गरेको रकम जफत गरिने समितिले जनाएको छ  । 

बोलपत्र फाराम बापत २ हजार रुपैयाँ समितिको कार्यालयबाट लिन सकिनेछ । १ फाराममा कुनै १ मात्र प्याकेज वा दुवै प्याकेजको महलमा कबोल अंक भर्न पाइने छ । यदि सुन तथा चाँदी खरिद गर्न चाहेमा १ वटा फाराम मात्र खरिद गर्नुपर्ने हुन्छ ।

Share News