काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । बुधबार पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ बढेको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४२० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।
गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा र चाँदी चार हजार १०५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन दुई लाख ६१ हजार ७०० सय रुपैयाँ पुग्यो भने चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य दुई लाख ६७ हजार २०० रुपैयाँ र चाँदी चार हजार २५५ रुपैयाँमा किनबेच भएको थियो ।
अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा बुधबार एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।