नेपालको पहिलो वृहत कस्मेटिक ट्रेड शो ‘कस्मेटिका २०२५’ आयोजना हुँदै

काठमाडौं । नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पहिलो तथा एकमात्र वृहत ट्रेड शो ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ । यही डिसेम्बर २६ देखि २८ सम्म (पुस ११, १२ र १३ गते) काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेट सेन्टरमा यो प्रदर्शनी सञ्चालन हुन लागेको हो ।

हाउस अफ राजकर्निकारद्वारा सञ्चालन हुने यो एक्स्पो नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालको सहयोगमा आयोजना हुन लागेको हो ।

एक्स्पोमा वाव म्यागजिन मिडिया पार्टनर, वेवसर्फ़र आईएसपी पार्टनर र सागर आर्ट सर्भिस प्रिन्ट पार्टनरका रूपमा रहेका छन् । कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक, आयातकर्ता, आपूर्तिकर्ता र व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य लिएको छ । बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र शैलीको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

एक्स्पोमा कस्मेटिक ब्रान्डहरू, स्किनकेयर तथा हेयरकेयर कम्पनी, पर्सनल केयर र वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक टेक्नोलोजी निकाय, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी क्लिनिक, हेयर इम्प्लान्ट, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहनेछ । त्यस्तै, आगन्तुकका रूपमा उत्पादक, आयातकर्ता, वितरक, स्टकिस्ट, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन र कस्मेटिक डेन्टिस्ट सहभागी हुनेछन् ।

कस्मेटिका २०२५ केवल उत्पादन र सेवाको प्रदर्शनी मात्र नभई सौन्दर्य र वेलनेस क्षेत्रको उत्सवका रूपमा आयोजना गरिनेछ । कार्यक्रम अवधिभर कस्मेटिक्स, सौन्दर्य र वेलनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलालाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल र स्याम्पल वितरण, सेल्फी कियोस्क, ब्रान्ड लन्च, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयरसम्बन्धी कार्यशाला र सेमिनार तथा विज्ञसँग प्रत्यक्ष परामर्शको व्यवस्था रहनेछ । वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी र इसास ब्युटीका प्रस्तुति तथा सत्रहरू एक्स्पोका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ ।

पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस उत्पादन र सेवाको बजार तीव्र रूपमा विस्तार हुँदै आएको छ । जीवनशैली, सामाजिक मूल्य र ट्रेन्डमा आएको परिवर्तनका कारण उपभोक्ताहरू व्यक्तिगत हेरचाह, स्वास्थ्य र आत्मविश्वाससँग सम्बन्धित उत्पादन तथा सेवाप्रति बढी सचेत बन्दै गएका छन् । सामाजिक तथा डिजिटल प्लेटफर्ममा बढ्दो सक्रियताका कारण मानिसहरूले आफ्नो रूप–रंग र प्रस्तुतीकरणमा विशेष ध्यान दिन थालेका छन् ।

हाल नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य करिब २३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ भने सन् २०२५ सम्म यसको आयात २० अर्ब ४० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उद्योगका विज्ञहरूका अनुसार यो बजार वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहेको छ । निरन्तर विस्तारोन्मुख यस बजारमा आफ्नो उपस्थिति मजबुत बनाउन उत्पादक, वितरक र व्यवसायीहरूका लागि कस्मेटिका २०२५ महत्वपूर्ण अवसर हुने आयोजकको विश्वास छ ।

Share News