काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन् ।
सिंहदरबारस्थित भौतिक मन्त्रालयमा बुधबार (आज) पत्रकार सम्मेलन गर्दै उनले सय दिने प्रगति सार्वजनिक गरेका हुन् ।
जेनजी आन्दोलनपछिको विषम र चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारमा आम नागरिकको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु आफ्नो लागि ठूलो विश्वास र दायित्व दुवै भएको मन्त्री घिसिङले बताए ।
मन्त्रीको हैसियतमा नभई जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको दावी उनको छ ।
मन्त्री घिसिङले आलोचनाबाट नडराई, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको समेत दावी गरेका छन् ।
डेडिकेटेड तथा ट्रंकलाइन संरचना प्रयोग गरी खपत भएको विद्युतको बक्यौता उठाउन सुरु भएको विषयलाई पनि उनले आफ्नो प्रगति विवरणमा समावेश गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलसहित यस अवधिमा सडक विभागअन्तर्गतका करिब ३ अर्ब रुपैयाँका ठेक्का रकम भएका ४० वटा रुग्ण ठेक्का तोडिएको बताए ।
‘अरू करिब डेढ सय रुग्ण ठेक्का तोड्ने प्रक्रियामा छन्,’ उनले भने, ‘जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका १४ अर्ब २२ करोड रुपैयाँ ठेक्का रकम भएका २२ वटा रुग्ण ठेक्का तोडिएका छन् ।’
सहरी विकास मन्त्रालयअन्तर्गतका पनि ४ रुग्ण ठेक्का तोडिएको उनको भनाइ छ ।
मन्त्री घिसिङले तोडिएका आयोजना फेरि अलपत्र नपार्ने प्रतिबद्धता जनाउँदै नयाँ ठेक्काको प्रक्रिया सुरु गरिसकेको जानकारीसमेत दिए ।
करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ अनुमानित लागत रहेको १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई स्वदेशी लगानीमा निर्माण गर्ने गरी लगानी ढाँचा तय गरिएको र सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको उल्लेख गरे।