७१ हजार २१८ पशुको बीमा, मूल्य २९ करोड ७५ लाख रुपैयाँ

काठमाडौं । तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ । जिल्लास्थित कृषकले पालेका ७१ हजार २१८ पशुको बीमा गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएपछि कृषकहरू पशु बीमातर्फ सचेत भएको केन्द्र प्रमुख रविनसन अधिकारीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी कुखुराको बीमा ५९ हजार ९५९ कुखुराको गरिएको छ ।

त्यस्तै १ हजार ७४२ गाई, ७४० भैँसी, १ हजार ५८१ बाख्रा, ६९६ बङ्गुर, ६ हजार ५०० माछाको बीमा गरिएको छ ।

बीमा गरिएको पशुको मूल्य २९ करोड ७५ लाख ४० हजार रुपैयाँ रहेको छ । त्यसमध्ये गाइको १५ करोड ६७ लाख ८० हजार रुपैयाँ, भैँसीको ६ करोड ६६ लाख रुपैयाँ, बाख्राको १ करोड ५८ लाख १० हजार रुपैयाँ, बङ्गुरको १ करोड ७४ लाख रुपैयाँ, कुखुराको ४ करोड ४३ लाख ६ हजार रुपैयाँ, माछाको ५१ लाख ४ हजार रुपैयाँ रहेको छ ।

बीमा गरिएकोमध्ये गाईमा १५ लाख ६७ हजार रुपैयाँ कृषकले बेहोरेका छन् । यस्तै भैँसीमा ६ लाख ६६ हजार रुपैयाँ, बाख्रामा १ लाख ५८ हजार रुपैयाँ, बङ्गुरमा १ लाख ७४ हजार रुपैयाँ, कुखुरामा ३ लाख ४४ हजार रुपैयाँ, माछामा ८ हजार रुपैयाँ कृषकले बेहोरेका छन् । 

तनहुँमा ४९ हजार ७४२ गाई, ५३ हजार ३८३ भैँसी, ३ लाख ८८ हजार १७६ बाख्रा, ७२३ भेडा, सुँगुर बुङ्गुर ४६ हजार ८१३, कुखुरा ९ लाख ९८ हजार ९३६, हाँसको सङ्ख्या ११ हजार ९८७ रहेको कार्यालयले जननाएको छ ।  दुधालु गाइको सङ्ख्या १३ हजार ९४२, दुधालु भैँसीको सङ्ख्या २१ हजार ५०३ रहेको छ । 

Share News