सुरक्षण मुद्रण केन्द्रले दिन थाल्यो लाइसेन्स, चैतभित्र १२ लाख बाँड्ने लक्ष्य

काठमाडौं । वर्षौंदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा रहेका सेवाग्राहीलाई सुरक्षण मुद्रण केन्द्रले वितरण गर्न थालेको छ । सुरक्षण मुद्रण केन्द्रले क्यूआर कोडसहितको नयाँ स्मार्ट लाइसेन्स छपाइलाई तीव्रता दिन थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार गत कात्तिक २१ गतेदेखि छपाइ सुरु गरेको केन्द्रले डेढ महिनाको छोटो अवधिमा ६ हजार ७०० थानभन्दा बढी लाइसेन्स छापेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा मन्त्री कुलमान घिसिङले आफ्नो कार्य प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

लाइसेन्सको ठूलो ब्याकलग हटाउन केन्द्रले आगामी चैत महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइसक्ने जिम्मेवारी पाएको छ । केन्द्रसँग दैनिक २५ हजार थानसम्म लाइसेन्स छाप्न सक्ने उच्च क्षमता भए तापनि हाल केही प्राविधिक कारणले छपाइको गति सुस्त देखिएको छ ।

केन्द्रको क्षमता उच्च भए पनि यातायात व्यवस्था विभागले पर्याप्त डाटा उपलब्ध गराउन नसक्दा मेसिनहरू पूर्ण क्षमतामा चल्न पाएका छैनन् । हाल विभागले दैनिक रूपमा प्राप्त हुने अत्यावश्यक लाइसेन्सका लागि मात्र डाटा पठाउने गरेको छ ।

विभागका अनुसार सन् २०२२ मे देखि हालसम्म करिब २५ लाख थान लाइसेन्स छाप्न बाँकी छ । जसका लागि आवश्यक सफ्टवेयर निर्माणको काम अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

लामो समयदेखि रसिदकै भरमा सवारी चलाउन बाध्य चालकहरूलाई राहत दिन पहिलो चरणमा १२ लाख थान लाइसेन्स छापिनेछ । 

Share News