निम्बसका २ कम्पनीको एकै वर्ष २० अर्ब नाघ्यो आम्दानी, ६.२९ अर्ब रुपैयाँ ऋण

काठमाडौं । निम्बस ग्रुप अन्तर्गतको प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेड र निम्बस इन्टरनेशनल कम्पनी प्रालिले एकै वर्ष २० अर्ब रुपैयाँ बढी आम्दानी गरेका छन् । सन् २०२५ मा प्रोबायोटेक इन्डस्ट्रिजले १२ अर्ब ३८ करोड रुपैयाँ र निम्बस इन्टरनेशनलले ८ अर्ब ३ करोड रुपैयाँ गरी २० अर्ब ४१ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेका हुन् । 

यस्तै, यी दुई कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब २९ करोड रुपैयाँ बराबर ऋण लिएका छन् । जसमध्ये प्रोबायोटेक इन्डस्ट्रिजले ४ अर्ब ३४ करोड रुपैयाँ र निम्बस इन्टरनेशनलले १ अर्ब ९५ करोड रुपैयाँ ऋण लिएका हुन् । 

प्रोबायोटेक इन्डस्ट्रिज 

प्रोबायोटेक इन्डस्ट्रिजले सन् २०२५ मा १२ अर्ब ३८ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा २४.७२ प्रतिशत अर्थात् २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बढी हो । कम्पनीले सन् २०२४ मा ९ अर्ब ९२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीले सन् २०२३ मा ११ अर्ब ४२ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १४ अर्ब ९३ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा ११ अर्ब १० करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

सन् २००१ मार्चमा स्थापना भएको प्रोबायोटेक इन्डस्ट्रिज लिमिटेडले सन् २००४ देखि व्यावसायिक उत्पादन थालनी गरेको हो । सन् २०२१ जुलाई १५ मा भने पब्लिक कम्पनीमा रूपान्तरण भएको हो ।

वीरगञ्ज–२१ मा उत्पादन प्लान्ट रहेको प्रोबायोटेकले पशुको आहार, खाद्य तेल, दाल तथा गेडागुडी उत्पादन तथा प्रशोधन गर्दै आएको छ । साथै, देशभरका डिलरमार्फत व्यञ्जन, शक्ति, शक्ति हाइजीन, सोयम्याक्स, सुनौलो किरण, प्रोविट र प्रोमिन ब्रान्डमा आफ्ना उत्पादन बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीको कुल उत्पादन क्षमता वार्षिक १ लाख मेट्रिक टनभन्दा बढी रहेको छ । जसमा साढे ६९ हजार मेट्रिक टन भटमास, ४९ हजार मेट्रिक टन खाद्य तेल, २३ हजार मेट्रिक टन पीठो र ३० हजार मेट्रिक टन दाल उत्पादन गर्दै आएको छ ।

कम्पनीका अनुसार करिब ६२ प्रतिशत आम्दानी फिड सेग्मेन्टबाट हुने गरेको छ भने बाँकी आम्दानी खाद्य (फुड) सेग्मेन्टबाट प्राप्त भएको छ । यसले कम्पनीलाई एउटै व्यवसायमा निर्भर रहनु नपर्ने अवस्था सिर्जना गरेको जनाएको छ । प्रोबायोटेक निम्बस ग्रुप अन्तर्गतको कम्पनी हो । निम्बसको उत्पादन, व्यापारलगायत विभिन्न व्यवसाय क्षेत्रमा लगानी रहेको छ । 

उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ३४ करोड १० लाख रुपैयाँ ऋण लिएको छ । जसमा ४३ करोड १० लाख रुपैयाँ दीर्घकालीन र ३ अर्ब ९० करोड १० लाख रुपैयाँ अल्पकालीन रहेको कम्पनीले जनाएको छ ।

निम्बस इन्टरनेशनल

यस कम्पनीले सन् २०२५ मा ८ अर्ब ३ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ७.४९ प्रतिशत अर्थात् ५६ करोड रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीले सन् २०२१ मा ७ अर्ब २२ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ६२ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ७ अर्ब ४ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका थिए । 

सन् २००० मा स्थापना भएको निम्बु इन्टरनेशनल कम्पनी कृषि उत्पादन तथा पशु आहारको आयात र व्यापारमा संलग्न छ । कम्पनीले विभिन्न देशहरूका साथै स्वदेशी किसानहरूबाट खाद्यान्न तथा पशु आहारसम्बन्धी सामग्री खरिद गर्दै आएको छ ।

निम्बसले खरिद गरिएका वस्तुहरू नेपालभर रहेका आफ्ना डिलर तथा खुद्रा बिक्रेतामार्फत प्रत्यक्ष बिक्री गर्ने गर्दछ । साथै केही वस्तुहरू भने आउटसोर्स्ड कन्ट्र्याक्ट म्यानुफ्याक्चर मार्फत प्रशोधन गरी आफ्नै ब्रान्डमा बजारमा बिक्री गर्छ । 

कम्पनीको कर्पोरेट कार्यालय सिनामंगल, काठमाडौंमा अवस्थित छ । यस कम्पनीको सम्पूर्ण सेयर स्वामित्व निम्बस होल्डिङ प्रालिको रहेको छ । उक्त होल्डिङ कम्पनीमा आनन्द कुमार अग्रवाल (बगरिया) र जगदीश प्रसाद अग्रवालको समान स्वामित्व रहेको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ९५ करोड २० लाख रुपैयाँ ऋण लिएको छ । 

Share News