भारतमा रूसी भोड्का-ह्विस्कीको उछाल, १० महिनामा ५२० टन आयात

काठमाडौं । रूसी तेलको प्रमुख खरिदकर्तामध्ये एक बनेको भारतमा अब रूसी मदिराको माग पनि तीव्र रूपमा बढ्दै गएको छ । गत वर्षको तुलनामा यस वर्षको पहिलो १० महिनामा रूसबाट भारततर्फ हुने मदिरा निर्यात करिब चार गुणाले बढेको छ । यसले भारतलाई रूसी निर्यातकर्ताहरूका लागि एक आकर्षक उदीयमान बजार बनाइरहेको छ । 

रूसी कृषि मन्त्रालयअन्तर्गत संघीय कृषि निर्यात विकास केन्द्रका तथ्यांकका आधारमा प्रमुख वित्तीय तथा व्यापारिक दैनिक ‘वेदोमोस्तीले भारत रूसी भोड्का र अन्य कडा मादक पेय पदार्थका निर्यातकर्ताहरूका लागि आकर्षक बजारको रूपमा रहेको जनाएको छ ।

यो समाचार हालै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमण गरेको समयसँगै आएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा पुटिनले दुवै देशबीच व्यापार विस्तार गर्ने इच्छा व्यक्त गरेका थिए । दुवै मुलुक आपसी व्यापार बढाउन नयाँ–नयाँ क्षेत्रको खोजीमा छन् ।

भारतमा रूसी मदिराको माग तीव्र रूपमा बढेको छ । यस वर्षको पहिलो १० महिनामा रूसबाट भारतमा मदिरा निर्यात गत वर्षको तुलनामा चार गुणा पुगेको छ । यस अवधिमा भोड्का, जिन, ह्विस्की र लिकरजस्ता पेय पदार्थहरूको ठूलो परिमाण पठाइएको छ ।

सन् २०२५ को पहिलो १० महिनामा रूसी मदिरा उत्पादकहरूले भारतमा करिब ५२० टन मदिरा पठाएका छन् । यसमा भोड्का, जिन, ह्विस्की र लिकर समावेश छन्। यी ढुवानीहरूको मूल्य ९ लाख अमेरिकी डलर थियो । यो गत वर्षको सोही अवधिको तुलनामा तौलका हिसाबले तीन गुणा र मूल्यका हिसाबले चार गुणा बढी हो।

एग्रोएक्सपोर्टका अनुसार भोड्का निर्यात सबैभन्दा अगाडि रहेको छ । ती १० महिनामा भोड्काको ढुवानी मूल्य करिब ७ लाख ६० हजार अमेरिकी डलर पुगेको छ ।

यद्यपि, जनवरीदेखि अक्टोबरसम्म रूसी मदिराका सबैभन्दा ठूला आयातकर्तामध्ये भारत १४औं स्थानमा मात्र रहेको छ । टनका आधारमा भारतको हिस्सा १.३ प्रतिशत र आम्दानीका हिसाबले १.४–१.५ प्रतिशत रहेको छ । तर, भारततर्फ निर्यात वृद्धिदर सबैभन्दा उच्च रहेको छ । रूसबाट मदिरा खरिद गर्ने अन्य प्रमुख मुलुकहरूमा काजाकिस्तान, जर्जिया, चीन, अजरबैजान, आर्मेनिया र बेलारुस रहेका छन् ।

रूसी मदिरा निर्यातमा देखिएको तीव्र वृद्धिलाई भारत–रूसबीच पछिल्ला वर्षहरूमा मजबुत बनेको ऊर्जा व्यापारसँग पनि जोडेर हेरिएको छ । युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धका बीच भारतले रूसी कच्चा तेलको आयात उल्लेख्य रूपमा बढाएको थियो । यसले दुई देशबीच विश्वास र व्यापारिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको विश्लेषकहरूको भनाइ छ । यही ऊर्जा सहकार्यले अन्य क्षेत्र, विशेषगरी उपभोग्य वस्तु र खाद्य–पेय पदार्थको व्यापार विस्तारका लागि आधार तय गरेको देखिन्छ ।

ऊर्जा व्यापारबाट सुरु भएको यो सहकार्य अब मदिरा, कृषि उत्पादन र उपभोग्य सामग्रीतर्फ विस्तार हुँदै गएको छ । रूसी निर्यातकर्ताहरूका लागि भारत सस्तो ऊर्जा मात्र होइन, दीर्घकालीन बजारको रूपमा पनि स्थापित हुँदै गएको छ । दुवै देशले आपसी व्यापार विविधीकरण गर्ने रणनीति लिँदै आएका बेला तेलपछि मदिरा निर्यातमा देखिएको यो उछाल भारत–रूस आर्थिक सम्बन्धको नयाँ संकेतका रूपमा हेरिएको छ ।

Share News