काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकारले सबै प्रकारका उल्झन हटाउने बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको स्थानहद हटाउन सकिनेतर्फ संकेत गर्दै खरेलले निर्वाचनका सवै उल्झन हटाउने प्रतिबद्धता व्यक्त गरेको ओली निकट स्रोतले बताएको छ ।
उनले नेकपा एमालेका अध्यक्ष ओलीसँग भक्तपुरको गुण्डुस्थित निवासमा करिब दुई घण्टा चलेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनको वातावरण शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
छलफलको क्रममा समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी, मतदाता सुरक्षा बारे गहन छलफल भएको बताइएको छ ।
यसअघि मन्त्री खरेलले आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।