काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ बाट पत्रकार विक्रम रत्नको नाम उम्मेदवार सिफारिस भएको छ । नेपाली कम्युनिस्ट पार्टीको सञ्चार (सांस्कृतिक महाशाखा (पार्टी जिल्ला कमिटी) को शुक्रबार बसेको बैठकले उनको नाम सिफारिस गरेको हो ।
महाशाखाका अध्यक्ष बुद्ध लोप्चनको अध्यक्षता तथा उपत्यका विशेष प्रदेश समितिका उपाध्यक्ष तथा महाशाखा इन्चार्ज निर्मल ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले रत्नको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको अध्यक्ष लोप्चनले जानकारी दिए ।
कमलामाई नगरपालिका-१२ का स्थायी बासिन्दा रत्न बिगत डेढ दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् । सिन्धुलीस्थित रेडियो सिद्धबाबाबाट २०६९ सालमा पत्रकारिता सुरु गरेका उनी १० वर्षदेखि मुलधारको पत्रकारितामा क्रियाशील छन् । एबीसी टेलिभिजन, न्यूज एजेन्सी नेपाल लगायतका आधा दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव रहेका उनी हाल सौर्य दैनिक पत्रिकामा आबद्ध रहेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको सचिव रहेका पत्रकार रत्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सहसचिव रहेका छन् ।
पत्रकारिताको अलावा सामाजिक तथा राजनीतिक अभियानमा संलग्न पत्रकार रत्न भ्रष्टाचार तथा कुशासन विरुद्धको अभियान समेत सञ्चालन गर्दै आएका छन् । आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले देशभरबाट उम्मेदवार सिफारिस गरिरहेको छ ।
पत्रकार रत्नले आफूलाई उम्मेदवार सिफारिस गर्ने निर्णयको स्वागत गर्दै आफू निर्वाचन लड्न तयार रहेको बताए ।
‘राजनीतिमा नव युवापुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक भइसकेको छ । र त्यसका निम्ति हामी तयार हुनुपर्ने भएको छ,’ उनले भने, ‘म सिन्धुली २ मा उम्मेदवारी दिन तयार छु ।