काठमाडौं । चितवनमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि डे-केयर तथा आवास केन्द्र सञ्चालनमा आएको छ । आरोग्य केयरले भरतपुर महानगरपालिका-११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो ।
केन्द्रले प्रारम्भिक चरणमा १५ ज्येष्ठ नागरिकलाई आवासीय सेवा प्रदान गर्ने गरी सेवा सुरु गरेको छ । फिजियोथेरापीसहित विभिन्न स्वास्थ्य सेवा, मनोरञ्जनात्मक कार्यक्रम तथा सामाजिक क्रियाकलाप प्रदान गरिने केन्द्रका अध्यक्ष हिरामान महर्जनले जानकारी दिए ।
उनले भने, ‘केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य ज्येष्ठ नागरिकको स्वास्थ्य, मनोरञ्जन र सामाजिक सहभागितालाई प्रोत्साहन गर्नु हो ।’
ज्येष्ठ नागरिकलाई परिवार बाहिर पनि सामाजिक तथा मानसिक रूपमा सक्रिय रहन सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
केन्द्रमा मुख्य रूपमा फिजियोथेरापी सेवा, शल्यक्रियापछिको हेरचाह, डिमेन्सिया, अल्जाइमर, पार्किन्सन रोगीको हेरचाह, पक्षघात (प्यारालाइसिस) भएका बिरामीको सेवा तथा ‘पेलियटिभ केयर’ सेवा उपलब्ध रहेको उनले जानकारी दिए ।
हाल दैनिक आधारमा सेवा दिइँदै आएको केन्द्रले भविष्यमा आवश्यकताअनुसार सेवा विस्तार गर्ने योजना बनाएको केन्द्रका सूचना अधिकारी फडिन्द्र न्यौपानेले बताए । उनका अनुसार केन्द्र ४५ सेयर सदस्यको लगानीमा स्थापना गरिएको हो ।
करिब २ करोड रुपैयाँको लगानीमा ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको केन्द्रले प्रारम्भिक चरणमा १५ शय्या क्षमताबाट सेवा सुरु गरेको छ । केन्द्रमा हाल १५ कर्मचारी कार्यरत छन्, जसमध्ये सात जना केयरगिभर रहेका छन् । आवासीय संरचना अन्तर्गत १० सामान्य शय्या र ५ मेडिकल क्याबिनको व्यवस्था गरिएको छ । सम्पूर्ण भवन अपाङ्गमैत्री संरचनाअनुसार निर्माण गरिएको न्यौपानेले जानकारी दिए ।