राष्ट्रिय घर निर्माण फेस्ट सुरु, पहिलो दिन १५ हजारभन्दा बढी दर्शकको सहभागिता

काठमाडौं । घर निर्माण फाउन्डेसनको आयोजनामा राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । निर्माणसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा हेरिएको फेस्टको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गरेका हुन् । 

निर्माण व्यवसाय क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको यस फेस्टमा पहिलो दिन १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । आयोजकका अनुसार फेस्टमा कुल ४० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ भने दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको  छ।

फेस्टमा विश्वकै ठूलो इट्टालगायत विभिन्न आधुनिक निर्माण सामग्री तथा प्रविधिहरू प्रदर्शनीमा राखिएका छन्। आइतबारबाट सुरु भएको यो फेस्ट आगामी मंगलबारसम्म सञ्चालन हुनेछ। 

आयोजक घर निर्माण फाउन्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहे पनि धेरै ब्रान्डहरूले आफ्ना उत्पादनलाई व्यवस्थित, आकर्षक र प्रभावकारी रूपमा प्रस्तुत गर्न चुनौती भोगिरहेका छन्। सोही समस्याको समाधानका लागि फेस्ट आयोजना गरिएको हो ।

प्रदर्शनीमा विशेषज्ञहरूको मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्याउने अवसर पाउनेछन् । साथै ‘उल्टो घर’, ‘डोम हाउस’ र ६ लाख रुपैयाँ लागतको घर प्रदर्शनीका विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ ।

Share News