रसुवागढी नाका पुस १७ गतेदेखि सञ्चालनमा आउने, चीन-नेपाल व्यापार फेरि सुरु हुने

काठमाडौं । चीनसँगको मुख्य नाका रसुवागढी आगामी पुस १७ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार रसुवागढीमा बेलिब्रिज निर्माण सम्पन्न भइसकेको छ । २४ असारमा आएको बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा अवरुद्ध भएको थियो र सडक सम्पर्क समेत विच्छेद भएको थियो । 

नेपाल सरकार र चिनियाँ सरकारको द्विपक्षीय पहल तथा समन्वयमा बेलिब्रिज निर्माण पूरा गरी यसको भार बहन क्षमता र अन्य प्राविधिक परीक्षण पनि सकिएको रसुवा प्रशासनले जनाएको छ । चिनियाँ समकक्षी पक्षले पनि नाका सुचारु हुने जानकारी दिएको छ । यसैबीच, नाका सञ्चालनका लागि ड्राइपोर्टमा गाडी पार्किङ र सामान भण्डारण व्यवस्था समेत पूरा गरिएको छ । 

रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै सर्नु परेको थियो । तर, तातोपानी नाकासमेत बाढी र पहिरोका कारण लामो समय बन्द भएपछि व्यापार प्रभावित भएको थियो । 

यसले चाडबाडको समयमा चीनबाट नेपाल आउने सामान रोकिनु र व्यापारीलाई ठूलो नोक्सानी भोग्नुपर्ने स्थिति सिर्जना गरेको थियो । रसुवागढी नाका पुनः खुल्दै गर्दा नेपाल-चीन व्यापार र मालसामानको आवागमन फेरि सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

null

Share News