काठमाडौं । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुगमन गरी कारबाही गरेको छ ।
विभागले ३ वटा उद्योग तथा फर्मलाई १ लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई १० हजार रुपैयाँ, आरोहण फेसन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान ५०/५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ (१) क बमोजिम कारबाही गरेको हो ।
यसैगरी अन्य १४ वटा उद्योग/फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।