४ दशक पुरानो अशोक स्टीलको आम्दानी २१ प्रतिशत बढ्यो, बैंक ऋण साढे ३ अर्ब रुपैयाँ

काठमाडौं । अशोक स्टील इन्डस्ट्रिज प्रालिको यस वर्ष आम्दानी बढाएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष अशोक स्टील इन्डस्ट्रिजको आम्दानी २१.२२ प्रतिशत अर्थात् ७६ करोड १० लाख रुपैयाँ बढेको हो । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२५ मा उक्त आम्दानी बढेर ४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ गरेको हो । 

सन् २०२३ को तुलनामा भने आम्दानी कम हो । सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ को तुलनामा यस वर्ष कम्पनीको आम्दानी ३४.७२ प्रतिशत कम हो ।

यसैगरी, कम्पनीले सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ८८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँ, सन् २०१७ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ र सन् २०१६ मा ९३ करोड ४० लाख रुपैयाँको स्टीलको व्यापार गरेको थियो । 

सन् १९८४ मा स्थापित अशोक स्टीलले स्पञ्ज आइरन, पिग आइरन र स्क्राइब कच्चा पदार्थ प्रयोग गरी एमएस ब्लेड उत्पादन गरिरहेको छ । गढीमाई बारामा उद्योग रहेको यस कम्पनीले वार्षिक १ लाख मेट्रिक टन टीएमटी उत्पादन गर्दै आएको छ । 

चार दशकदेखि नेपाली बजारमा रहेको अशोक स्टीलको अध्यक्ष तथा प्रबन्ध निर्देशक पूनमचन्द अग्रवाल हुन् । उनीसँग स्टील उत्पादन उद्योगमा ३० वर्षभन्दा बढीको अनुभव छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक तुलसियान हुन् । कम्पनीको देशभर २५० बढी डिलर र ५ सय बढी खुद्रा बिक्रेता छन् । 

कम्पनीले बैंकको ऋण बढाएको छ । सन् २०२५ मा कम्पनीले ३ अर्ब ४३ करोड रुपैयाँ ऋण लिएको छ । जबकि सन् २०२४ कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ मात्रै ऋण लिएको थियो । कुल ऋणमा १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको कम्पनीले जनाएको छ ।

Share News