काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको १२औँ केन्द्रीय महाधिवेशन पुस ११ र १२ गते नेपालगञ्जमा सम्पन्न भएको छ । महाधिवेशनमा देशभरका ८ सयभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।
महाधिवेशनको मूल समारोहको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले कर्मचारी एकता, संस्थागत सुशासन र बैंकको सुदृढीकरणमा कर्मचारी संघको भूमिकाको प्रशंसा गरेका थिए ।
महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा रबिन्द्र प्रसाद चौलागाईं, वरिष्ठ उपाध्यक्षमा कबिराज बराज र महासचिवमा ऋषिराम ज्ञवाली चयन भएका छन् । उनीहरूसहित ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।
नवगठित नेतृत्व र महाधिवेशनले लिएको नीतिले आम कर्मचारीको मनोबल उच्च राख्दै कर्मचारीका साझा एजेन्डामा एकताबद्ध भएर समस्याको समाधान गर्ने र राष्ट्रिय वाणिज्य बैंकको समग्र प्रगतिमा योगदान पुर्याउने विश्वास लिएको संघले जनाएको छ ।
आम कर्मचारीले संघप्रति देखाएको ठूलो विश्वास र भरोसालाई महाधिवेशनले केवल नेतृत्व परिवर्तनका रूपमा मात्र नभई संस्थाको हित, सुदृढीकरण र प्रगतिका लागि संघले बोकेको संकल्पको विजयका रूपमा व्याख्या गरेको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा संघले नेपालगञ्ज नगरमा प्लेकार्ड र ब्यानरसहित प्रभातफेरी समेत आयोजना गरेको थियो ।