स्वीट्जरल्याण्डमा नयाँ वर्ष मनाउने क्रममा विस्फोट हुँदा करिब ४० जनाको मृत्यु, दर्जनौं घाइते

घटनास्थलमा गस्ती गर्दै प्रहरी । तस्बिर : Maxime Schmid | Afp | Getty Images

काठमाडौं ।   स्वीट्जरल्यान्डको एक स्की रिसोर्टस्थित बारमा भएको विस्फोटमा करिब ४० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्वीस अधिकारीहरूले बिहीबार जानकारी दिएअनुसार उच्चस्तरीय स्की रिसोर्ट क्रान्स–मोन्टानामा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित पार्टीका क्रममा भीडभाड भएको एक बारमा विस्फोट भएको हो ।

दक्षिण–पश्चिम स्वीट्जरल्यान्डस्थित उक्त रिसोर्टको ‘ले कन्स्टेलेसन​​​​​’  नामक बारमा राति करिब १:३० बजे आगलागी भएको थियो । विस्फोटको कारण हालसम्म स्पष्ट हुन सकेको छैन ।

‘हालको अवस्थामा हामी यसलाई आगलागीको घटनाका रूपमा हेरिरहेका छौं र आक्रमणको सम्भावनालाई विचार गरिरहेका छैनौं,’ वरिष्ठ सरकारी वकिल बिट्रिस पिल्लोले पत्रकार सम्मेलनमा भनिन् । उनले घटनाबारे पूर्ण अनुसन्धान सुरु गरिएको पनि जानकारी दिइन् ।

भाले क्यान्टनका सुरक्षा प्रमुख स्टेफान गान्जरका अनुसार पीडितमध्ये केही विदेशी नागरिक पनि रहेका छन् ।

क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले पीडितका आफन्तका लागि हेल्पलाइन सञ्चालनमा ल्याइएको बताए।

‘क्रान्समा राति भएको घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ,’ गिस्लरले पत्रकार सम्मेलनमा भने ।

‘हाम्रो तथ्यांकअनुसार करिब १०० जना गम्भीर रूपमा घाइते भएका छन् र दर्जनौं मानिसको मृत्यु भएको आशंका गरिएको छ,’ उनले थपे । 

उनका अनुसार घाइतेहरूलाई सिओन, लुजाने, जेनेभा र ज्युरिखका अस्पतालहरूमा पठाइएको छ ।

इटालीको विदेश मन्त्रालयले स्वीस प्रहरीबाट प्राप्त जानकारीका आधारमा करिब ४० जनाको मृत्यु भएको जनाएको छ । तर गिस्लरले ठोस संख्या दिन अस्वीकार गरे ।

यसअघि प्रहरीले धेरै मानिसले जलनको उपचार गराइरहेको र घटनास्थल पूर्ण रूपमा सिल गरिएको जानकारी दिएको थियो । क्रान्स–मोन्टानामाथि ‘नो–फ्लाइ जोन’ पनि घोषणा गरिएको छ । उद्धार कार्यका लागि १० वटा हेलिकप्टर र ४० वटा एम्बुलेन्स परिचालन गरिएको अधिकारीहरूले बताएका छन् ।

‘खुशीको क्षण हुनुपर्ने समय नयाँ वर्षको पहिलो दिनमै क्रान्स–मोन्टानामा सम्पूर्ण देश र देशबाहिरसम्म शोकमा परिणत भयो,’  स्वीस संघीय राष्ट्रपति गाइ पार्मेलिनले एक्समा समवेदना व्यक्त गर्दै भने ।

प्रहरीका अनुसार मृतकका शव परिवारजनसम्म पुर्याउने प्रयास भइरहेको छ ।

Share News