जेनजी आन्दोलनको क्षति : बीमितलाई ५ अर्ब ४८ करोड भुक्तानी

काठमाडौं । बीमा कम्पनीहरूले ५ अर्ब ४८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ३ हजार ३१६ वटा बीमा दाबीको करिब २३ अर्ब ४७ करोड दाबी रकम परेको थियो । 

सोमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी कम्पनीहरूले गरिसकेका हुन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिब १९ अर्ब ५ करोडमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिब ५५ करोड ३९ लाख दाबी रकममध्ये करिब ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिब १ करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख दाबी रकममध्ये करिब  ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ । 

यस्तै, जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कुल करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

बीमा प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा  कम्पनीहरूबाट परेका कुल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कुल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रहेको छ।

Share News