काठमाडौं । चाँदीका गहना उत्पादन तथा बिक्री वितरणमा टेक्नो जया ज्वेलरी परिचित नाम हो । सन् २००५ मा सञ्चालनमा आएको टेक्नो जया ज्वेलरी सुरुमा घरेलु तथा साना उद्योग विभागमा दर्ता भएको थियो । व्यवसायको आकार र सञ्जाल विस्तारसँगै सन् २०१६ मार्चमा कम्पनीले निजी उद्योग खडा गर्यो । कम्पनीको मोरङको विराटनगरमा आधुनिक उत्पादन प्लान्ट सञ्चालनमा रहेको छ । जहाँ दैनिक ३० हजार ग्रामसम्म चाँदीका विभिन्न प्रकारका गहना तथा अलङ्कार उत्पादन कम्पनीले जनाएको छ ।
टेक्नो जया ज्वेलरीका हाल देशभर ६ वटा खुद्रा बिक्री केन्द्र सञ्चालनमा छन् । कम्पनीले ग्राहकको पूर्वअर्डर अनुसार गहना तयार पार्ने काम गर्ने मात्र नभई ६ वटा खुद्रा बिक्री केन्द्रमार्फत पनि प्रत्यक्ष बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार पूर्वी क्षेत्रलाई समेट्ने गरी विराटनगर २ वटा, मध्य क्षेत्रलाई समेट्ने गरी काठमाडौंमा एक र पश्चिम क्षेत्रलाई समेट्ने गरी भैरहवा, पोखरा, नेपालगन्ज एक/एक वटा आउटलेट सञ्चालनमा छन् ।
आधुनिक र परम्परागत शैलीलाई संयोजन गरी नयाँ-नयाँ गहना डिजाइन गर्ने टेक्नो जया ज्वेलरीले एक वर्षमै डेढ अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब ४८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत अर्थात् ६५ करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८२ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । चाँदीको मूल्य वृद्धिका कारण कम्पनीको सञ्चालन आम्दानी पनि बढेको जनाएको छ ।
ग्राहक संरचनामा गहना उत्पादक व्यवसायीक ग्राहक र खुद्रा ग्राहक दुवै समावेश छन्, तर बिक्रीको ठूलो हिस्सा भने थोक ग्राहकबाट आउने गरेको कम्पनीले जनाएको छ । कच्चा चाँदीलाई प्रशोधित गरी आकर्षक तथा गुणस्तरीय चाँदीका गरगहना उत्पादन गर्दै आएको टेक्नो जया ज्वेलरीले ग्राहकको अर्डर अनुसार गहना तयार गर्नुका साथै खुद्रा बिक्रीका लागि समेत उत्पादन गर्दै आएको छ । कलात्मक गहना उत्पादन गर्दै आएको कम्पनीले चाँदी केवल गहना वा भाँडाकुँडामा मात्र सीमित हुन्छ भन्ने सोचलाई पूर्ण रूपमा तोडिदिएको छ ।
टेक्नो जया ज्वेलरीको अध्यक्ष देवकिशन मुन्दडा रहेको छ । जसको मार्गदर्शनमा कम्पनी सञ्चालन भइरहेको छ । मुन्दडासँग विभिन्न व्यवसाय र उद्योग क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव रहेको छ । उनी बाबा भेगिटेबल आयल इन्डस्ट्रिजका निर्देशक पनि हुन्, जसले पाम, सोयाबिन, सनफ्लावर तथा तोरीको तेल उत्पादन गर्छ । साथै, उनी बाबा जुट मिल्स प्रालिका निर्देशक हुन्, जहाँ जुट, बोरा र विभिन्न जुटजन्य सामग्री उत्पादन गरिन्छ । यसका अतिरिक्त, उनी अनुराग अगरबत्ती धूप उद्योगका सञ्चालकको भूमिकामा समेत रहेका छन् ।
कम्पनीका सञ्चालक नन्द किशोर मुन्दडासँग पनि औद्योगिक क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव छ । उनी उद्योग र व्यावसायिक क्षेत्रमा आफ्नो दक्षता र अनुभवमार्फत कम्पनीको दीर्घकालीन रणनीति र सञ्चालनमा योगदान पुर्याउँदै आएका छन् ।
कम्पनीले कच्चा चाँदी दुबईबाट आयात गर्दै आएको छ । यसका अतिरिक्त जिंक र एलोयजस्ता अन्य आवश्यक उपभोग्य सामग्रीहरू भारतबाट आपूर्ति गर्दै आएको जनाएको छ । कच्चा चाँदीको मूल्य अन्तर्राष्ट्रिय माग तथा आपूर्तिको आधारमा निर्धारण हुने भएकाले बजारको उतार-चढावसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
त्यसैगरी, कच्चा चाँदीको मूल्य अमेरिकी डलरसँग सम्बन्धित भएकाले कम्पनीले विदेशी विनिमय दरको उतार-चढावको जोखिमसमेत बेहोर्दै आएको छ । विनिमय दरमा हुने परिवर्तनले आयात लागतमा प्रत्यक्ष असर पार्ने हुँदा कम्पनीको लागत संरचना प्रभावित हुने गरेको कम्पनीले जनाएको छ ।
साथै घरेलु बजारमा कच्चा चाँदीको बिक्री मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा निर्धारण गरिने भएकाले कम्पनीले मूल्य निर्धारणमा सीमित लचिलोपन पाउँछ । मूल्यमा आउने अस्थिरताले नाफामा असर गर्ने गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण एक अर्ब रुपैयाँ भन्दा बढी ऋण लिएको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले १३ करोड ९६ लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब २ करोड रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब १५ करोड ९० लाख रुपैयाँ बैंकबाट ऋण लिएको जनाएको छ ।