भेनेजुएलामाथि आक्रमण गरेसँगै ट्रम्पको ठाडो सन्देश- भेनेजुएलाको तेल अब अमेरिकी कम्पनीको हातमा

काठमाडौं । अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको छ । मादुरो र उनकी पत्नीलाई अमेरिकातर्फ ल्याइँदै छ जहाँ उनीहरूमाथि न्यूयोर्कमा मुद्दा चलाइनेछ । 

यसैबीच अमेरिकाको नजर भेनेजुएलाका तेल भण्डारमाथि परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका तेल कम्पनीहरूलाई भेनेजुएलाका विशाल कच्चा तेल भण्डारको दोहन गर्न अनुमति दिइने बताएका छन् । उनले अमेरिकाले भेनेजुएलाको तेल चीनलाई आपूर्ति गर्ने पनि स्पष्ट पारेका छन् ।

शनिबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाका ठूला ऊर्जा कम्पनीहरूले भेनेजुएलाको जर्जर भइसकेको तेल संरचना मर्मत गर्न र पुनः उत्पादन सुरु गर्न अर्बौं डलर लगानी गर्ने बताए । 

ट्रम्पले भने, ‘हाम्रो विश्वकै सबैभन्दा ठूला अमेरिकी तेल कम्पनीहरू त्यहाँ जानेछन्, अर्बौं डलर खर्च गर्नेछन्, निकै खराब भइसकेको तेल संरचना सुधार्नेछन् र देशका लागि आम्दानी सुरु गर्नेछन् ।’

एपीका अनुसार ट्रम्पले अमेरिकाले फेरि भेनेजुएलाको तेलको ‘ठूलो परिमाण’ अन्य देशहरूलाई बिक्री गर्ने पनि बताएका छन् ।

तेलबारे ट्रम्पले के भने?

पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने, ‘हामी तेलको व्यापारमा छौं । हामी यो उनीहरूलाई बेच्नेछौ ।ु उनले तेल कम्पनीहरूले भेनेजुएलाको तेल संरचना पुनर्निर्माणका लागि खर्च व्यहोर्ने पनि बताए । साथै अमेरिकाका प्रतिबन्धहरू यथावत् रहेको स्पष्ट पार्दै ट्रम्पले भने, ‘भेनेजुएलाको सम्पूर्ण तेलमाथिको प्रतिबन्ध पूर्ण रूपमा लागू छ ।’

एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकाले आपूर्ति अवरुद्ध हुन नदिने र चीनसँग सम्बन्धित कुनै पनि चिन्तालाई अस्वीकार गरे । ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आफ्नो अत्यन्त राम्रो सम्बन्ध रहेको बताए । उनले बेइजिङसँग कुनै समस्या नहुने दाबी गर्दै भने, ‘उनीहरूलाई तेल प्राप्त हुनेछ । हामी मानिसहरूलाई तेल लिन दिनेछौं ।’

अमेरिकाले लगाएको प्रतिबन्ध

एएफपीका अनुसार भेनेजुएला सन् २०१९ देखि अमेरिकी तेल प्रतिबन्धको दायरामा छ । हाल भेनेजुएलाले प्रतिदिन करिब १० लाख ब्यारेल कच्चा तेल उत्पादन गर्दै आएको छ, जसको अधिकांश भाग भारी छुटमा कालो बजारमार्फत बिक्री हुँदै आएको छ । ठूलो कच्चा तेल भण्डार हुँदाहुँदै पनि ट्रम्पले भेनेजुएलाको तेल क्षेत्रलाई वर्षौंदेखि ‘पूर्ण रूपमा तहसनहस भएको बताउँदै आएका छन् ।

केही दिनअघि अमेरिकी सेनाले कम्तीमा दुईवटा तेल ट्यांकर नियन्त्रणमा लिएको थियो, जसले प्रतिबन्ध उल्लंघन गरेको वाशिंगटनको दाबी छ । भेनेजुएलाका कच्चा तेल भण्डारमाथि अमेरिकाले कब्जा जमाएको असर छिमेकी मुलुक भारतमा पनि देखिन सक्ने अनुमान गरिएको छ । भारत पनि भेनेजुएलाबाट कच्चा तेल खरिद गर्ने देश हो, यद्यपि यसको मात्रा अन्य देशहरूको तुलनामा निकै कम छ । यदि अमेरिकाले भेनेजुएलाको तेल क्षेत्र नियन्त्रणमा लिएर सञ्चालन गर्यो भने भारतलाई पनि तेल आपूर्ति बढ्न सक्ने सम्भावना छ ।

Share News