ललितपुर महानगरका मेयर महर्जन विकास नायकबाट सम्मानित

राजनैतिक संस्कार विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान

काठमाडौं । विकास नायक अवार्ड २०८२ बाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा मेयर महर्जनलाई सम्मान गरिएको हो । 

राजनैतिक संस्कार विकास, नीति निर्माण र सुशासन मार्फत विकासमा योगदान गरेबापत महर्जनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले मेयर महर्जनलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।

सांस्कृतिक सम्पदा बोकेको ललितपुरलाई परम्परा, पहिचान र आधुनिकताको सुन्दर सहरका रुपमा विकास गर्ने कामको नेतृत्व महर्जनले गरिरहेका छन् । स्थानीय शासनमा पारदर्शिता, सुशासन र जनमुखी सेवाको सुदृढ अभ्यास गर्दै उनले समावेशी विकास, साझा सहभागिता र दीगो पूर्वाधार निर्माणमा ललितपुरलाई नयाँ ढंगले अगाडि बढाएका छन् । 

पुराना बस्ती र सम्पदाको संरक्षण, आधुनिक पैदलमार्ग, सुन्दर सडक, सार्वजनिक स्थल व्यवस्थापन तथा ‘स्मार्ट सिटी’ को परिकल्पना अघि सार्दै मेयर महर्जनले प्रविधिमैत्री महानगरको जग बसालेका छन् । साथै अशक्त नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा, सेवाग्राहीलाई एकद्वार सेवा प्रणाली र ललितपुरलाई शैक्षिक हबका रुपमा विकास गर्न चिरीबाबले नेतृत्वदायी भूमिका समेत खेलेका छन् । 

तीन पटक वडाअध्यक्षमा विजयी हाँसिल गरेर जनप्रतिनिधिका रुपमा ह्याट्रिक गरेका चिरीबाबुलाई ललितपुरवासीले दुई पटक नगर प्रमुखका रुपमा जिताएका छन् । जनविश्वास, नगरवासीको भरोसा र अपेक्षालाई सिरोधार्य गर्दै चिरीबाबुले व्यवस्थित कार्यशैली र श्रमप्रेमी स्वभावमार्फत नागरिकको सेवकको रुपमा काम गरिरहेका छन् । मेयर चिरीबाबु महर्जनलाई धेरैले स्थानीय जनप्रतिनिधिको प्रेरणादायी प्रतिकको उदाहरणका रुपमा बुझ्ने गरेका छन् । 

Share News