उद्योगी शेखर गोल्छा विकास नायकबाट सम्मानित

उत्पादन र निकासी प्रवर्द्धन गरी देश विकासमा योगदान गरेबापत विकास नायक अवार्ड

काठमाडौं । विकास नायक-२०८२ बाट उद्योगी शेखर गोल्छा सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा उद्योगी गोल्छालाई अवार्डसहित सम्मान गरिएको हो । 

उद्योग सञ्चालन मार्फत बजार र निकासी प्रवर्द्धन गरी देश विकासमा योगदान गरेबापत उद्योगी गोल्छालाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले गोल्छालाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।

सय वर्षको औद्योगिक विरासत बोकेको गोल्छा ग्रुपले हजारौँलाई रोजगारी, राज्यलाई उच्च राजस्व दिँदै आएको छ । गोल्छा ग्रुप विराटनगर जुट मिलदेखि सुरु भएको व्यावसायिक यात्रा वित्त, बीमा, अटोमोबाइल्स, उर्जा, शिक्षा र मनोरञ्जन लगायत दर्जनौं क्षेत्रमा विस्तार भएर नेपाली औद्योगिक व्यावसायिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल भएको छ ।  जसको नेतृत्व शेखर गोल्छाले गरिरहेका छन् ।

देशमा अग्रणी उद्योगीको पहिचान बनाएका शेखरको दूरदर्शी नेतृत्व, व्यावसायिक निष्ठा, श्रमप्रेमी मनोवृत्ति, सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता र राष्ट्रिय अर्थतन्त्र विकासमा अनुकरणीय योगदान छ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरेर भिजन पेपर-२०३० मार्फत एक सय खर्बको अर्थतन्त्र र २२ लाख बढीलाई रोजगारी दिन सक्ने योजना अघि सारेका शेखर उद्योगी व्यवसायीका सामु पनि एक अब्बल नेतृत्वका रुपमा परिचित छन् । 

Share News