काठमाडौं । विकास नायक अवार्ड २०८२ बाट आरएम ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्य विकास नायकबाट सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा आचार्यलाई सम्मान गरेको हो ।
जलविद्युत तथा नवीकरणीय उर्जामा लगानी प्रवद्धनमा गरेर देश र जनतालाई लाभ पुर्याए बापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले आचार्यलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।
दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग खोलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक माहोलमा आफूलाई परिचित गराइसकेका आरएम ग्रुपका अध्यक्ष आचार्य अहिले उर्जा उद्यमीका अभिभावकका रुपमा काम गरिरहेका छन् । उर्जा क्षेत्रमा रचनात्मक र ऊर्जाशील उद्यमीको पहिचान बनाएका कृष्ण आचार्यकै नेतृत्वमा अहिले ४ सय बढी मेगावाट विद्युत उत्पादनको चरणमा छ ।
तीन दर्जन बढी कम्पनीको नेतृत्व गरिरहेका आचार्य स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)को समेत नेतृत्व गरेर संस्थालाई संस्थागत बनाउन ठूलो भूमिका खेले । उनी देशको विकास, सम्बृद्धि र उज्वल भविष्य उर्जाबाट नै सम्भव हुन सक्ने दृढताका साथ एकपछि अर्को जलविद्युत आयोजनामा सक्रिय बनिरहेका छन् । आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रतिवद्धता उद्यमी कृष्णप्रसाद आचार्यको छ ।