डा.रामकण्ठ माकजु श्रेष्ठलाई विकास नायक अवार्ड

स्वास्थ्य सेवा विकासमा महत्वपूर्ण योगदान गरेबापत विकास नायकबाट सम्मानित

काठमाडौं । विकास नायक–२०८२ बाट धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा.रामकण्ठ माकजु श्रेष्ठ सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा श्रेष्ठलाई सम्मान गरेको हो ।

स्वास्थ्य सेवा विकासमा महत्वपूर्ण योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले श्रेष्ठलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।

डा.रामकण्ठ माकजु श्रेष्ठले तीन दशकअघि लास जलाउने र फोहोर फाल्ने ठाउँमा धुलिखेल अस्पतालको निर्माण गरेर लाखौं मानिसको पुर्नजन्म दिने स्वास्थ्य संस्थाका रुपमा स्थापित गरेका छन् । कुनैबेला उपचार गर्न घण्टौं हिँडेर काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गरेर डा. माकजुले धुलिखेलमात्रै होइन देशको १८ वटा ठाउँमा आउटरिच सेन्टर स्थापना गरेर दैलोमै उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

अष्ट्रियाको सुविधा सम्पन्न जीवनशैली त्यागेर स्वदेशको स्वास्थ्य सेवामा तल्लीन डा. श्रेष्ठले धुलिखेललाई एसियाकै दोस्रो र नेपालकै पहिलो हेल्दी सिटीको रुपमा परिचित गराउन सफल भएका छन् ।

अमेरिका, जर्मनी, अष्ट्रिया, सिंगापुर जस्ता सुविधा सम्पन्न देशमा हुने अत्याधुनिक उपचार धुलिखेल अस्पतालमै सम्भव बनाउनुमा डा. माकजुको योगदान अतुलनीय छ । समाज, सरकार र दातृ निकायको सहयकोगले डा. रामकण्ठ माकजुले धुलिखेललाई एक अग्रणी, स्वास्थ्य, शिक्षा र अनुसन्धानको केन्द्रको रुपमा विकास गरेका छन् ।

डा. रामकण्ठ माकजु गरिबले पनि उच्चस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मानसिकता र योजनाका साथ रात दिन स्वास्थ्य कर्ममा खटिएका छन् । 

Share News