काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक साधारण सभाबाट स्वीकृत प्रस्तावअनुसार चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरिनेछ ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
यससम्बन्धी सम्झौतामा बुधबार सिंगटी हाइड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदीप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीका अनुसार हकप्रद सेयर निष्कासनबाट संकलित रकम अन्य हाइड्रोपावर कम्पनीहरूमार्फत प्रवर्धन गरिएका ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत आयोजना तथा ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गरिनेछ ।
हकप्रद सेयरमार्फत पूँजी संरचना मजबुत बनाउँदै दीर्घकालीन ऊर्जा परियोजनामा लगानी विस्तार गर्ने सिंगटी हाइड्रो इनर्जीको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।