पार्टी विभाजनको आशंका बढेपछि कोइरालाको परामर्श तीव्र, एकताका लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अहिले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको आन्तरिक तनावबारे आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग निरन्तर छलफलमा रहेका छन्। 

पार्टी विभाजनको आशंका बढिरहेका बेला कोइरालाले परामर्शलाई तीव्र बनाएको उनी निकट एक नेताले जानकारी दिए ।

डा. कोइरालासँग छलफलमा वरिष्ठ अधिवक्ता उपेन्द्र न्यौपाने, शेरबहादुर केसी, योगेन्द्र अधिकारीका साथै उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु शुक्रराज शर्मा, बलबहादुर केसी, मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, किरण यादव, डा. चन्द्रमोहन यादव, कृष्ण पोखरेल, सरिता प्रसाईं, टेकबहादुर गुरुङ, राजीव कोइराला, उमेश रायमाझी, दिनेश कोइराला, दिलेन्द्र बडु, दीपक दाहाल, डा.गोविन्द पोखरेल, राम यादव, डा. सुनिल शर्मा, सुरेन्द्र आचार्यलगायत सहभागी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

छलफलमा कपिलवस्तु, बाजुरा, बैतडी, चितवन, दोलखा, खोटाङ, धादिङ, रुपन्देही, सप्तरीलगायत जिल्लाका सभापति र वरिष्ठ नेताहरू पनि सहभागी रहेका छन् । सबैले डा. कोइरालासँग प्रत्यक्ष भेट गरी पार्टीलाई विभाजनबाट जोगाउन नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् ।

डा. कोइरालालाई विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ३ सय महाधिवेशन प्रतिनिधिले पनि भेटेर पार्टी एकताका लागि पहल गर्न कोइरालालाई अनुरोध गरेका ती नेताले जानकारी दिए ।

उनका अनुसार भेटमा सहभागी नेताहरूले पार्टीभित्रको असन्तुष्टि, विधान संशोधन, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक रणनीतिका विषयमा खुला छलफल भएको बताएका छन्। 

डा. कोइरालाले आफू पार्टी एकता र लोकतान्त्रिक मूल्यको पक्षमा रहेको उल्लेख गर्दै सबै पक्षसँग संवाद जारी राख्ने संकेत देखाएका छन् । 

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसभित्र देखिएको मतभेद समाधानका लागि आगामी दिनमा थप राजनीतिक तथा संस्थागत पहल डा. कोइरालाबाट हुने अपेक्षा गरिएको छ ।

Share News