विशेष महाधिवेशन निर्वाचनतर्फ उन्मुख

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन नयाँ नेतृत्व चयनतर्फ निर्णायक चरणमा प्रवेश गरेको छ ।

विशेष महाधिवेशनअन्तर्गत जारी बन्दसत्रले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने कार्यविधि पारित गरेपछि कांग्रेस औपचारिक रूपमा नेतृत्व परिवर्तनको प्रक्रियामा गएको हो । 

पारित कार्यविधिअनुसार १५औं महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि नयाँ केन्द्रीय कार्यसमिति गठन गरिनेछ ।

विशेष महाधिवेशनले पारित गरेको कार्यविधिमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले उक्त कार्यसमिति विघटन गर्ने व्यवस्था गरिएको छ । साथै पार्टी सञ्चालनका लागि अन्तरिम अवधिमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्ने उल्लेख छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए । तर, कार्यसमितिको कार्यकाल सकिएसँगै पार्टीभित्र नेतृत्वको वैधानिकताबारे प्रश्न उठ्दै आएका थिए ।

यसअघि मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको थियो । पुस २० को कार्य सम्पादन समिति बैठकले केन्द्रीय कार्य समितिको म्याद आगामी जेठसम्म थपेको थियो । तर, विशेष महाधिवेशनले नयाँ कार्यविधि पारित गरेपछि अब पार्टी नेतृत्व चयन निर्वाचनमार्फत अघि बढ्ने निश्चित भएको छ ।

कार्यविधि पारितसँगै कांग्रेसभित्र नयाँ नेतृत्व, आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाबारे छलफल थप तीव्र बनेको छ ।

Share News