गगन थापाको प्रतिवेदन भन्छ- जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा ठूलो मोड आयो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले भदौ २३ र २४ गते भएको युवाको आन्दोलनपछि नेपालको राजनीति निर्णायक र चुनौतीपूर्ण मोडमा प्रवेश गरेको निष्कर्स निकालेका छन् । 

महाधिवेशनमा प्रस्तुत राजनितिक प्रतिवेदनमा थापाले यस्तो निष्कर्स निकालेका हुन् । महामन्त्री थापाका अनुसार उक्त आन्दोलनले भदौ २३ अघिको र पछिको राजनीतिक अवस्थाबीच धेरै भिन्नता देखाएको छ ।

उनले जेनजी आन्दोलनलाई एउटै र बारम्बार असफल भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुनु, कुशासन र भ्रष्टाचारजस्ता विकृतिविरुद्ध जनताको विस्फोटका रूपमा व्याख्या गरेका छन् । 

थापाको प्रतिवेदनमा संसदको पहिलो दल तथा सरकारको हिस्सेदार भएकाले ती विसंगतिहरूमा कांग्रेसको पनि कतै न कतै जिम्मेवारी रहेको स्वीकार छ । समयमै हस्तक्षेप गर्न नसकिएको यथार्थ आत्मसात गर्नुपर्ने थापाको धारणा छ ।

प्रतिवेदनले जेनजी आन्दोलनलाई आमूल परिवर्तनको मागका रूपमा लिँदै नीति, कार्यशैली, सोच र केही पात्रसम्म परिवर्तन आवश्यक भएको निष्कर्ष निकालेको छ । 

संसदमा सबैभन्दा ठूलो दल र सरकारमा सहभागी भएकै कारण कांग्रेसभित्र पनि परिवर्तनको माग मुखर बनेको प्रतिवेदनमा जनाइएको छ । तर केन्द्रीय तहमा निर्णय लिन नसक्ने अवस्था पार्टीका लागि चिन्ताको विषय भएको उल्लेख प्रतिवेदनमा गरिएको छ ।

इतिहासका विभिन्न चरणमा कांग्रेसले लिएका निर्णायक भूमिकाको स्मरण गर्दै स्थापना कालमा लोकतन्त्र, २०४६ सालमा बहुदलीय व्यवस्था र २०६२/६३ पछि लोकतन्त्र, गणतन्त्र, संघीयता तथा समावेशितालाई संस्थागत गर्न नेतृत्वदायी भूमिका खेलेको थापाको दाबी छ । 

यही परिवर्तनकारी परम्पराका आधारमा जेनजी आन्दोलनको सन्देश ग्रहण गर्दै विशेष महाधिवेशनबाट भावी यात्रा तय गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औंल्याइएको छ ।

Share News