काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष सुमन सायमीसहितका नेताहरू बुधवार (भोलि) नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
सायमीसहित काठमाडौं उपत्यकाका प्रभावशाली नेताहरूलाई पार्टीमा भित्र्याउने तयारी भएको नेकपाका कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए ।
उनका अनुसार भोलि आयोजना गरिने कार्यक्रममा सायमीसहितको समूह औपचारिक रूपमा नेकपामा प्रवेश गर्नेछ ।
पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं उपत्यकामा उल्लेखनीय नतिजा निकालेको नेकपाको पूर्वस्वरूप नेकपा माओवादी केन्द्रले त्यसपछि उपत्यकामा आफ्नो प्रभाव कायम राख्न सकेको छैन ।
पछिल्ला निर्वाचन र राजनीतिक गतिविधिमा उपत्यकामा कमजोर उपस्थिति देखिएको माओवादीसँग एकता गरेको तत्कालीन नेकपा एकीकृत समाजवादीको प्रभाव पनि राम्रो छैन । यही सन्दर्भमा नेकपाले उपत्यकामा संगठन सुदृढीकरणका लागि नयाँ रणनीति अघि सारेको देखिन्छ ।
पार्टीका कार्यालय सचिव पुनका अनुसार नेकपा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले सुमन सायमीको प्रवेशलाई उपत्यकामा पार्टी पुनर्जीवनका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् ।
लामो समयदेखि काठमाडौंको स्थानीय राजनीति र सार्वजनिक मत निर्माणमा सक्रिय सायमीलाई पार्टीले सञ्जीवनी बुटीका रूपमा हेरेको नेताहरूको बुझाइ छ ।
नेकपाका कार्यालय सचिव गणेशमान पुनले सायमीको प्रवेशले उपत्यकामा पार्टीको सांगठनिक कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार सायमीको अनुभव, नेटवर्क र स्थानीय स्तरको पहुँचले पार्टीलाई नयाँ गति दिने अपेक्षा गरिएको पुनले बताए ।
पुनका अनुसार भोलि हुने कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधवकुमार नेपालले सुमन सायमीलाई औपचारिक रूपमा पार्टी सदस्यता प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।
सोही अवसरमा अन्य नेताहरूको पनि सामूहिक प्रवेश गराइने तयारी रहेको छ ।