कांग्रेसको किचलो : पावर सेयरिङमा कुरा मिलेन, नेतृत्वसँग ब्रिफिङ गरेर पुनः वार्तामा बस्ने

कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा ।

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सुरु गरिएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ । 

विशेष महाधिवेशन पक्षले संसदीय बोर्डमा संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षको बराबरी हिस्सेदारी र टिकट वितरणमा पनि सोहीअनुसार गर्नुपर्ने माग राखेपछि नेतृत्वसँग ब्रिफिङ गरेर पुनः वार्तामा बस्ने तयारी भएको छ ।

पार्टीका विभिन्न धारका नेताहरू सहभागी वार्तामा तत्काल निष्कर्षमा नपुगेकोले छलफलका विषयहरू आ–आफ्नो समूहमा लैजाने सहमति भएको वार्तामा संलग्न एक नेताले बताए ।

वार्तामा सहभागी एक नेताका अनुसार उठाइएका एजेन्डा, प्रस्ताव र असहमतिको बुँदामाथि सम्बन्धित समूहमा आन्तरिक छलफल गर्ने निर्णय गरिएको छ । त्यसपछि साझा धारणा बनाएर पुनः बैठक बस्ने गरी पहिलो चरणको वार्ता टुंगिएको हो ।

पार्टीभित्र नेतृत्व, विधान, संगठनात्मक व्यवस्थापन र पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर देखिएको मतभेद समाधान गर्ने उद्देश्यले वार्ता सुरु गरिएको हो । नेताहरूले संवादको माध्यमबाट सहमति खोज्ने प्रयास जारी रहने बताएका छन् ।

कांग्रेसका एक नेताका अनुसार वार्ता पावर सेयरिङमा अड्किएको छ । पहिलो चरणको छलफल एक-अर्काका एजेण्डा सुनाएर सम्पन्न भएको ती नेताले बताए । 

वार्तामा उपस्थित सबै पक्षले समस्या समाधानका लागि लचकता देखाउनुपर्ने आवश्यकता औंल्याएको ती नेताले जानकारी दिए ।

दोस्रो चरणको वार्ता आन्तरिक छलफलपछि बोलाइने बताइएको छ ।

Share News