काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको भेटमा केही लचकता देखाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारको टिकट वितरणका क्रममा आफ्नो हस्ताक्षरको सट्टा वैकल्पिक व्यवस्था गर्न मिल्ने कानुनी प्रावधान भए त्यसअनुसार अघि बढ्न आफू तयार रहेको देउवाले बताए ।
महामन्त्री थापा समूहबाट राखिएको उक्त प्रस्तावमा देउवा सहमत देखिए पनि महामन्त्रीहरूले तत्काल निर्णय नगरेको देउवाका एक सहयोगीले जानकारी दिए ।
देउवालाई उद्धृत गर्दै ती सहयोगीले भने, ‘राष्ट्रिय सभामा र समानुपातिक सूचीमा आफ्नै हस्ताक्षरबाट उम्मेदवारी दर्ता भइसकेको छ। प्रत्यक्षतर्फको टिकट वितरणमा कानुनी अड्चन नआउने अवस्था भए अर्को साथीको हस्ताक्षर प्रयोग गर्न सभापति तयार हुनुहुन्छ ।’
सहयोगीका अनुसार देउवाले आफू १५औं महाधिवेशनको प्रत्याशी नभएको स्पष्ट गर्दै करिब दुई महिनापछि हुने महाधिवेशनसम्म पर्खिन महामन्त्रीहरूलाई सुझाव दिएका छन् ।
उनका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया पारदर्शी र कानुनी रूपमा वैध हुनुपर्ने भएकाले यस विषयमा निर्वाचन आयोग तथा कानुनका जानकारहरूसँग परामर्श गरेर स्पष्ट निष्कर्ष निकाल्न आवश्यक छ ।
‘कानुनअनुसार मिल्ने हो भने प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को साथीको हस्ताक्षर हुनमा म सहमत छु,’ देउवालाई उद्धृत गर्दै ती सहयोगीले भने ।