काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो अर्ध वार्षिक अवधिमा सरकारको राजस्व संकलन अपेक्षाअनुसार हुन सकेको छैन । अर्थमन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार चालु आवको पुस ३० गतेसम्म जम्मा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ, जुन अर्ध वार्षिक लक्ष्यको करिब ८१.७५ प्रतिशत हो ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार ६ महिनामा ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको थियो । तर वास्तविक संकलन लक्ष्यभन्दा करिब १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ कम देखिएको छ । यसले चालु वर्षको ६ महिनाको अवधिमा राजस्व दबाब अझै बढ्ने संकेत गर्छ ।
पुस महिनामा पनि लक्ष्य भेटिएन
पुस महिनाको मात्र लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ तोकिएको थियो । तर सो अवधिमा १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ८९.९६ प्रतिशत मात्र हो । यद्यपि पुस ३० गते एकै दिन २० अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन हुनु सकारात्मक संकेत मानिए पनि समग्र लक्ष्य पूरा गर्न पर्याप्त देखिँदैन ।
गत आर्थिक वर्ष २०८१/८२ कुल राजस्व संकलन वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । गत वर्ष पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जबकि गत वर्ष ६ महिनामा ६ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको थियो ।
यस आधारमा हेर्दा चालु वर्षको संकलन अघिल्लो वर्षको तुलनामा केही मात्र सुधारिएको देखिन्छ, तर लक्ष्य अनुसारको गति अझै कमजोर छ । विभिन्न राजनीतिक गतिविधि वा आन्दोलन हुनु, आन्तरिक आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्नु, निजी क्षेत्रको लगानी कमजोर रहनु र उपभोग घट्दा राजस्व संकलनमा असर परेको जानकारहरु बताउँछन् ।