गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै

काठमाडौं । गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको बैठक बिहीबार ललितपुरको कुपण्डोलमा बस्न लागेको हो ।

बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनपछि बस्न लागेको यो पहिलो बैठकलाई कांग्रेसको भावी राजनीतिक दिशा र संगठनात्मक कार्ययोजनाका दृष्टिले महत्वपूर्ण मानिएको छ । बैठकमा महाधिवेशनका निर्णयहरूको औपचारिक अनुमोदन, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल हुने जनाइएको छ ।

नवनिर्वाचित सहमहामन्त्री प्रकाश स्नेहिकाका अनुसार बैठकले विभाग गठन, प्रवक्तासहितका जिम्मेवारी तोक्ने, प्रदेश तथा भ्रातृ–शुभेच्छुक संस्थाहरूसँगको समन्वय र निकट भविष्यका राजनीतिक कार्यक्रमको खाका तय गर्ने सम्भावना छ ।

विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति थापाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने, सामूहिक नेतृत्वको अभ्यास बढाउने र नीतिगत स्पष्टतासहित कांग्रेसलाई पुनः जनतासँग जोड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । आजको बैठकबाट त्यसको प्रारम्भिक संकेत देखिने नेताहरूले बताएका छन् ।

सहमहामन्त्री स्नेहिकाका अनुसार बैठक बिहान ११ बजेलाई तोकिए पनि रातभरको अनिदोका कारण नेताहरू अझै बैठकस्थल नआइपुगेकाले बैठक बस्न केही समय ढिलाइ हुने छ ।

Share News