काठमाडौं । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै करिब ४ हजार ४३९ जनालाई करारमा भर्ती गर्ने जनाएको छ ।
देशभर आर्थिक गणना सञ्चालन गर्न स्थलगत तथ्यांक सङ्कलन र सुपरिवेक्षणका लागि ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक आवश्यक रहेको छ । सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनु पर्नेछ भने गणक पदका लागि कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
रोजगारी अवधि करिब साढे दुई महिनाको करारका लागि हुनेछ । सेवा सुविधाअनुसार सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने जानकारी कार्यालयले दिएको छ ।
योग्य उम्मेदवारहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ । आवेदन प्रक्रिया राष्ट्रिय तथ्यांक कार्यालयको आधिकारिक वेबसाइट वा प्रदान गरिएको क्यूआर कोडमार्फत पूरा गर्न सकिनेछ । कार्यालयले म्याद नाघेका वा पूर्ण नभएका दरखास्तमा कुनै कारबाही नहुने स्पष्ट पारेको छ ।