आधिकारिकता खोज्न निर्वाचन आयोग पुगे गगन-विश्व, विवरण अध्यावधिक गर्ने

बल्झियो आधिकारिकताको विवाद

काठमाडौं । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका कांग्रेस सभापति गगन कुमार थापाको टिम निर्वाचन आयोग पुगेको छ । निर्वाचनपछि बिहीबार बसेको कार्यसमितिको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि गगन–विश्व पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् । 

केन्द्रीय समिति बैठकले पार्टीको सबै विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आज निर्वाचन आयोगलाई विवरण बुझाउन/जानकारी गराउन थापाको टिम निर्वाचन आयोग पुगेको हो । 

बुधबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मासँगै पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे निर्वाचित भएका थिए । 

पार्टीको सहमहामन्त्री डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित भएका थिए । 

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले भने पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आयोगलाई नै पत्र पठाइसकेको छ । अहिले कांग्रेसमा आधिकारिकताको विवाद बढेको छ । सबैले आयोगको निर्णय कुरिरहेका छन् । 

Share News