काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापतिमा निर्वाचित भएका गगन कुमार थापाले पार्टी नफुटेको बताएका छन् । पार्टीको विवरण अध्यावधिकका लागि निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीसँग धारणा राख्दै नेपाली कांग्रेस विभाजन नभएको बताएका हुन् ।
‘विशेष महाधिवेशन प्रारम्भ भएपछि निवर्तमान केन्द्रिय समिति भंग भइसकेको हो, त्यो जानकारी हामीले निर्वाचन आयोगलाई यसअघि नै गराइसकेका छौं । त्यसपछि कसले के जानकारी दिए त्यो थाहा भएन, शेरबहादुर देउवा निवर्तमान सभापति भइसक्नु भयो,’ उनले भने, अबको सभापति म हुँ ।’
उनले विशेष महाधिवेशन भएर पनि नयाँ नेतृत्व आइसकेकोले सबैले एकबद्ध भएर काममा लाग्नुपर्ने धारणा राखे ।
थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् ।
यो विधानको बाध्यकारी व्यवस्था भएको र त्यो व्यवस्था अन्तर्गत भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाले अब नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्नुपर्ने बताएका छन् ।