काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आधिकारिकताको माग गर्दै आइतबार (आज) सर्वोच्च अदालत जाने भएको छ ।
शुक्रबार निर्वाचन आयोगले गगन थापा समूहलाई दिएको आधिकारिकताको मान्यताविरुद्ध देउवा समूह अदालत जाने भएको हो । देउवा समूहले आज सर्वोच्च अदालतमा रिट दायर गर्न लागेको हो ।
देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । कानुनी पाटोको जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।
देउवा समूहले निर्वाचन आयोग र नेपाली कांग्रेसका नवनियुक्त सभापति गगन कुमार थापाविरुद्ध रिट दायर गर्ने तयारी गरेको हो ।