काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस दुई टुक्रामा विभाजित हुँदा गुल्मी कांग्रेस तीन टुक्रामा विभाजित भएको छ ।
गगन थापा नेतृत्वको विशेष महाधिवेशनले निर्वाचित गरेको नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएसँगै गुल्मीमा पनि कांग्रेस विभाजित भएको हो ।
गुल्मीमा सभापति थापा नेतृत्वको आधिकारिक समूह, शेरबहादुर देउवा नेतृत्वको समूहसँगै यी दुवै समूहमा नलाग्नेहरूले नेपाली कांग्रेस बीपी गठन गरेका हुन् ।
जिल्ला सभापति खिलध्वज पन्थीसहितको जिल्ला कार्य समितिको बहुमत निर्वाचन आयोगले आधिकारिकता दिएको थापा नेतृत्वमा रहेको नेपाली कांग्रेसमा रहेको जिल्ला नेता महेन्द्र भण्डारीले जानकारी दिए ।
जिल्लाका पुराना नेता तथा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र कुँवर, हरिनारायण सापकोटासहितका नेताहरू देउवा नेतृत्वमा रहेको नेपाली कांग्रेसमा रहेको युवा नेता रविन्द्र घिमिरेले जानकारी दिए ।
देउवा र थापा दुवै समूहमा नलागेका नेताहरूले विद्रोह गरेर जिल्लामा नेपाली कांग्रेस बीपी जिल्ला कार्य समिति गठन गरेका छन् । नवगठित उक्त कार्य समितिको सभापतिमा नेपाली कांग्रेस गुल्मी जिल्ला कार्य समितिका पूर्वसदस्य सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् । पाण्डे नेपाल शिक्षक संघ गुल्मीका पूर्वउपसभापति तथा पालुखा मावि इस्माका पूर्वप्रधानाध्यापकसमेत रहिसकेका जिल्लाका चर्चित नेता हुन् ।
पाण्डेका अनुसार नेपाली कांग्रेसका जिल्लाका अधिकांश नेताहरूसँग छलफल बीपी कांग्रेसले छलफल गरिरहेको छ । पाण्डेले जिल्लाका वडा, पालिका, क्षेत्र र जिल्लाका एक सयभन्दा धेरै नेताहरू बीपी कांग्रेसमा प्रवेश गर्नेगरी छलफल चलिरहेको छ ।
