काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन् । अभियन्ता सुदन गुरुङले सामाजिक सन्जालमा लेख्दै आज अपरान्ह साढे ३ बजे औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने जानकारी दिए ।
गुरुङले पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको स्पष्ट पारेका छन् ।
जनताले माग गर्दै आएको जवाफदेहिता, स्पष्ट दिशा र ठोस नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको उनको भनाइ छ ।
वक्तव्यमा जनहितलाई पहिलो प्राथमिकतामा राखिने, युवाको विश्वास सुरक्षित गरिने र सुरु भएको परिवर्तनलाई दीर्घकालीन तथा स्थायी बनाइने उल्लेख गरिएको छ । साथै यो कदम व्यक्तिगत यात्रा नभई नागरिकसँगै अघि बढ्ने साझा अभियान भएको गुरुङले बताएका छन् ।
राजनीतिक रूपमा यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ । बालेन शाहको लोकप्रियता र सुदन गुरुङको सक्रिय भूमिकाले राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक तथा राजनीतिक प्रभाव थप विस्तार हुने अनुमान गरिएको छ ।
सुदनले अन्त्यमा आफू गोरखाबाट निर्वाचन लड्ने संकेत समेत गरेका छन् ।