काठमाडौं । लघुवित्त क्षेत्रमा बढ्दो आक्रमण र सुरक्षा चुनौतीका विषयमा नेपाल लघुवित्त बैंकर्स संघ र नेपाल प्रहरीबीच छलफल भएको छ । लघुवित्त बैंकर्स संघले आइतबार नेपाल प्रहरीसँग भेटेर लघुवित्त वित्तीय क्षेत्रमा भइरहेका अराजक घटनाको रोकथाम र कर्मचारी सुरक्षा सुनिश्चितता गर्ने उपायबारे छलफल गरेको हो ।
लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादव र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीबीच भएको छलफलमा लघुवित्त संस्थाका कर्मचारीमाथि भएका आक्रमण, कुटपिट र दुर्व्यवहारको विषय उठाइएको थियो । अध्यक्ष यादवका अनुसार मोरङ, सिराहा, सर्लाही, बारा र पाल्पा जिल्लामा कर्मचारीमाथि आक्रमण र दुर्व्यवहार भएका थिए ।
सर्लाहीमा केही लघुवित्त संस्थाको ३ लाख रुपैयाँ लुटिएको थियो । मोरङमा कर्मचारीमाथि दुर्व्यवहार भएको र बारा तथा पाल्पामा कामका क्रममा कुटपिट भएको जनाएको छ । अध्यक्ष यादवले प्रहरीसँग उजुरी र जाहेरीको कार्यान्वयनका लागि माग गरेको थिए ।
प्रहरीले तुरुन्तै आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ र सबै जिल्ला प्रहरी कार्यालयमा पत्र पठाउने तयारी भइरहेको जवाफ दिएको अध्यक्ष यादवले बताए । नेपाल राष्ट्र बैंकले पनि बैंकिङ क्षेत्रमा भएका आक्रमणबारे केही दिनअघि नेपाल प्रहरीका आईजीपीसँग छलफल गरिसकेको छ । आगामी दिनमा मासिक रुपमा जिल्ला प्रहरी कार्यालयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीसँग समन्वयात्मक बैठक राख्ने र सुरक्षा सुनिश्चित गर्ने योजना रहेको छ ।
अध्यक्ष यादवले भने, ‘हामी हाम्रो तर्फबाट सुरक्षा सुनिश्चित गर्न पहल गर्नेछौँ र प्रहरी पनि आफ्नो तर्फबाट अघि बढोस् भन्ने अपेक्षा राख्छौँ ।’
बैठकमा लघुवित्त बैंकर्स संघका कोषाध्यक्ष विनोद आचार्य पनि सहभागि थिए ।