पूर्वी नाकाबाट उत्साहजनक निर्यात, मुसुरो दाल ४८१ प्रतिशत बढ्यो, ७.१९ अर्बको अलैंची

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्ध वार्षिक अवधिमा अलैंची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा ७ अर्ब १९ करोड ९५ लाख ४ हजार रुपैयाँ बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलैंची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा अलैंचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाँइले बताए । 

गत आवको साउनदेखि पुससम्ममा ४ अर्ब ५५ करोड ७० लाख ६९ हजार रुपैयाँ बराबरको अलैंची पूर्वी नाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६.०२ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको ६ महिनामा ७६ करोड ५ लाख ३ हजार रुपैयाँ बराबरको ४ लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा ४५ करोड ७६ लाख ३४ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ ।

भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ । चालु आव २०८२/८३ को ६ महिनामा ५३ करोड ४ लाख ९६ हजार रुपैयाँको भेनियर सिट र ९ करोड १२ लाख ८७ हजार रुपैयाँको मुसुरो दाल निर्यात भएको छ ।

गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अर्ध वार्षिक अवधिमा चियाको निर्यातमा २६.०४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४.०५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ ।

चालु आवको ६ महिनामा २ अर्ब १७ करोड ८७ लाख ५ हजार रुपैयाँ बराबरको चिया र १ अर्ब ९ करोड ७४ लाख ३ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ९५ करोड ९० लाख ३७ हजार रुपैयाँ बराबरको चिया र १ अर्ब ९७ करोड ७६ लाख ४६ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको थियो ।

यसैगरी, चालु आव २०८२/८३ को पुससम्मको अर्ध वार्षिक अवधिमा ३३ करोड ८९ लाख ३ हजार रुपैयाँ बराबरको अम्लिसो, ५० करोड १७ लाख ३२ हजार रुपैयाँ बराबरको अदुवा र सुठो, ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ बराबरको काउली, बन्दाकोबी र ब्रोकाउली र ५ करोड ७४ लाख २७ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाँइले जानकारी दिए । 

Share News