काठमाडौं । विद्यार्थी राजनीतिबाट अखिल क्रान्तिकारीका ८ र अनेरास्ववियुका ४ पूर्व तथा बहालवाला अध्यक्ष प्रतिनिधिसभा निर्वाचन २०८२ को चुनावी मैदानमा उत्रिने भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले अखिल क्रान्तिकारीका ८ जना पूर्व अध्यक्षलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेकपा एमालेले पनि अनेरास्ववियुका बहालवाला अध्यक्षसहित चार जनालाई प्रतिनिधिसभा निर्वाचनको मैदानमा उतार्ने भएको हो ।
अखिल छैटौं हुँदै अखिल क्रान्तिकारी बनेको माओवादी धारका पूर्वअध्यक्ष देवप्रसाद गुरुङदेखि रञ्जित तामाङसम्मलाई नेकपाले उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका कार्यालय सचिव गणेशमान पुनले जानकारी दिए ।
नेकपाले विद्यार्थी राजनीतिमा खारिएका नेताहरूलाई संसदीय राजनीतिमा स्थापित गर्ने रणनीति लिएको देखिन्छ ।
पुनका अनुसार अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरू देवप्रसाद गुरुङ मनाङ, हितमान शाक्य काठमाडौं–१०, देवेन्द्र पौडेल नवलपरासी–२ बाट नेकपाको उमेदवार बन्दैछन् । नेकपाको उमेदवारी सूचीमा कृष्णध्वज खड्का प्युठान, लेखनाथ न्यौपाने गोरखा–२, हिमाल शर्मा काठमाडौं–६, रमेश मल्ल सल्यान र रन्जीत तामाङ झापा –५ बाट आफ्नो भाग्य कोर्दैछन् ।
नेकपा एमालेले पनि विद्यार्थी संगठन अनेरास्ववियुबाट नेतृत्वमा उदाएका नेताहरूलाई संसदीय चुनावमा अघि सारेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्वसभापति तथा अनेरास्ववियुका पूर्वअध्यक्ष शंकर पोखरेलदेखि हालका अध्यक्ष दीपक धामीसम्मलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
नेकपा एमालेले शंकर पोखरेललाई दाङ – २ बाट उम्मेदवार बनाएको कार्यालय सचिव डा. अधिकारीले जानकारी दिए । यस्तै, खिमलाल भट्टराई रुपन्देही – ५ बाट, माधव ढुंगेल रामेछाप र बहालवाला अध्यक्ष दीपक धामी डोटीवाट प्रतिस्पर्धामा रहेको डा. अधिकारीले जानकारी दिए ।
पोखरेल हाल एमालेका महासचिव हुन् भने गुरुङ तत्कालीन नेकपा माओवादीका महासचिव थिए । पोखरेल र गुरुङ दुवै आम निर्वाचनमा खरो उत्रिएका नेता भने होइनन् । पोखरेलले २०५१ को आम निर्वाचनमा दाङवाट आम निर्वाचन जित्दै पहिलोपटक संसदको यात्रा तय गरेका थिए । त्यसपछि उनलाई अर्को विजयमाला लगाउन २०७४ को प्रदेशसभा निर्वाचन पर्खिनु परेको थियो । पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । पछिल्लो २०७९ को आमनिर्वाचनमा पोखरेल पराजित भएका हुन् ।
गुरुङ २०६४ को पहिलो संविधान सभामा मनाङबाट निर्वाचित भएयता फेरि अर्कोपटक विजयी बन्न नसकेका नेता हुन् । पछिल्लो आम निर्वाचन २०७९ मा गुरुङ लमजुङबाट उम्मेदवार बने पनि निर्वाचित हुन सकेका थिएनन् । देवेन्द्र पौडेल २०७९ मा बाग्लुङबाट पहिलोपटक निर्वाचित भएका थिए ।
भट्टराई यसअघि राष्ट्रिय सभामा विपक्षी दलको नेतासमेत रहेका थिए । पहिलोपटक माथिल्लो सदनमा प्रवेश गरेका भट्टराई अहिले प्रतिनिधि सभाका लागि जनतासँग पुगेका हुन् ।
क्रान्तिकारीका पूर्वअध्यक्षहरू न्यौपाने, मल्ल र तामाङ पहिलो पटक निर्वाचनको मैदानमा छन् । अखिलका ढुंगेल र धामीका लागि पनि संसदीय मोर्चाको महाभीडन्त पहिलो हो ।
क्रान्तिकारीका शर्मा र शाक्य पटकपटक अवसर पाएर पनि जनताको रोजाइमा नपरेका नेता हुन् । शर्मा र शाक्य दुवैले अहिले पार्टीको सिफारिसमा परेको निर्वाचन क्षेत्रबाट यसअघि पनि प्रतिस्पर्धा गरेका थिए ।