मधेश पुगेर रास्वपाको उद्घोष : करोड पर्यटक उतार्नेदेखि मधेशको छोरा प्रधानमन्त्री बनाउनेसम्म

यस्तो भयो परिवर्तनको उद्घोष सभा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनकपुरधाममा आयोजना गरेको परिवर्तन उद्घोष सभा मार्फत मधेश केन्द्रित राजनीतिक रणनीति सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित सभामा पार्टीका शीर्ष नेताहरूले पूरानो राजनीतिक संरचनाप्रति तीव्र आलोचना गर्दै आफूहरूलाई नयाँ राजनीतिक विकल्पका रूपमा प्रस्तुत गरेका छन् ।

जनकपुरधाम–४ स्थित तिरहुतिया गाछीमा सम्पन्न सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन लगायत शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामा हजारौं समर्थक तथा कार्यकर्ताको सहभागिता रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

सभालाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले पुरानो राजनीतिप्रति प्रश्न र नयाँ विकल्पको दाबी गरेका छन् । सभापति लामिछानेले मधेशको माटोबाट परिवर्तनको आवाज उठाउन जनकपुरधाम रोजिएको उल्लेख गर्दै मुलुकको राजनीतिमा दोहोरिँदै आएको असफल अभ्यासको अन्त्य आवश्यक भएको बताए ।

उनले भने, ‘देशले वर्षौसम्म उही अनुहार र उही शैलीको राजनीति भोगिसक्यो । अब परिणाम दिने राजनीति चाहिएको छ, नारा मात्रै होइन ।’

लामिछानेले रास्वपाले जात, क्षेत्र वा समूहभन्दा माथि उठेर सुशासन, जवाफदेहिता र अवसरको समान पहुँचलाई मूल एजेन्डा बनाएको दाबी गरे । मधेशका समस्या राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै उनले अब मधेशलाई केवल चुनावी भाषणको विषय होइन, नीति निर्माणको केन्द्रमा राखिने बताए । उनले मधेशको छोरा बालेनलाई प्रधानमन्त्री बनाउन मधेशको ठूलो सहयोगको अपेक्षा रहने विश्वास व्यक्त गरे ।

null

सभामा पार्टीको तर्फबाट प्रस्तावित प्रधानमन्त्रीका उमेदवार तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले संयम, सुशासन र कार्यमुखी राजनीतिमा जोड दिए । सभालाई सम्बोधन गर्दै शाहले समर्थकहरूलाई संयमित रहन आग्रह गर्दै भावनाभन्दा परिणाममुखी राजनीतिमा लाग्न आह्वान गरे । उनले भाषणभन्दा पनि काममा जोड दिने गरेको व्यवहार प्रस्तुत गरे । 

काठमाडौं महानगरपालिकाको अनुभव सुनाउँदै बालेनले स्थानीय तहमा देखिएको सुशासनको अभ्यास अब संघीय राजनीतिमा पनि सम्भव रहेको दाबी गरे । उनले मधेशका युवालाई राजनीति हेर्ने होइन, बदल्ने भूमिकामा आउन समेत आग्रह गरे ।

यस्तै, उनले अहिले देशमै १० लाख पर्यटक आउने गरेको उदाहरण दिँदै अब जनकपुरमै वार्षिक एक करोड पर्यटक आउने वातावरण सिर्जना हुने धारणा राखे । 

रास्वपाले यस सभालाई मधेश प्रदेशमा पार्टी संगठन विस्तारको औपचारिक सुरुवातको रूपमा लिएको छ । पार्टी नेताहरूका अनुसार जनकपुरधाममा भएको सभा केवल शक्ति प्रदर्शन नभई स्थानीय तहसम्म संगठन निर्माण, सदस्यता विस्तार र आगामी निर्वाचनको आधार तयार गर्ने उद्देश्यसहित आयोजना गरिएको हो ।

सभामा उपसभापति डोल प्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, नेतृ सोबिता गौतम लगायत अन्य नेताहरूले पनि सम्बोधन गर्दै मधेशका आर्थिक, सामाजिक र प्रशासनिक समस्या समाधानमा रास्वपाको भूमिका रहने बताएका थिए ।

null

धनुषाबाट पार्टीको प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका झाले परम्परागत दलहरूको बलियो पकड रहेको मधेश क्षेत्रमा रास्वपाको यो सभा आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण मानिएको बताए । झाका अनुसार जनकपुरधामबाट परिवर्तनको उद्घोष गर्नु पार्टीको रणनीतिक कदम हो ।

उनले आफू पनि उम्मेद्वार रहेकोले मधेशमा रंगशाला निर्माण, जनकपुर धामलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने तथा मधेशको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने प्रतिवद्धता गरे । 

रास्वपाले आगामी दिनमा मधेशका अन्य जिल्लामा पनि यस्तै कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ।
 

Share News