काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिन्धुली–२ मा यातायात पूर्वाधारविज्ञ आशीष गजुरेललाई उम्मेदवार बनाएको छ ।
यातायात तथा पूर्वाधार क्षेत्रका अनुभवी गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । रास्वपाबाट उम्मेदवार बनेसँगै उनले उक्त पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।
गजुरेलले उम्मेदवारीबारे बोल्दै बाहिर बसेर सामाजिक सञ्जालमा वा मिडियामा आवाज उठाएर मात्र यातायात क्षेत्रमा ठोस सुधार नआउने निष्कर्षमा पुगेपछि आफै राजनीतिमा आएको बताए ।
‘बाहिरबाट कराएर भएन, भित्रबाटै गएर सुधारमा लाग्नुपर्यो भन्ने सोचले अघि बढेको हुँ,’ उनले भने, ‘यो क्षेत्रलाई गाइड गर्ने भनेको नीतिले हो र नीतिलाई गाइड गर्ने राजनीतिले हो।’
यातायात पूर्वाधारलाई आफ्नो मुख्य विज्ञता र पढेको क्षेत्र बताउँदै उनले यसको दिगो विकासका लागि राजनीति नै निर्णायक हुने बताए ।
उनले भने, ‘आफ्नो पेशागत कर्मलाई विश्राम दिएको होइन, बरु त्यही कर्मलाई सार्थक बनाउन राजनीतिको मैदानमा आएको हुँ । मेरो मुख्य एजेन्डा नै नितान्त यातायात क्षेत्रको सुधार हो ।’
गजुरेलले लामो समयदेखि देशको यातायात प्रणाली सुधार, पूर्वाधार विकास र सुरक्षित तथा दिगो यातायातको पक्षमा सक्रिय अभियान सञ्चालन गर्दै आएका छन् । नीति निर्माणदेखि कार्यान्वयन तहसम्मको अनुभव बोकेका उनलाई यातायात क्षेत्रको सुधार अभियन्ताका रूपमा चिनिन्छ ।
सिन्धुली–२ गजुरेलको गृहक्षेत्र समेत भएकाले स्थानीय समस्या, सम्भावना र आवश्यकताबारे उनी राम्रो जानकार छन् । विकास र सुशासनलाई प्राथमिकतामा राख्दै संसदमा नयाँ सोच र प्राविधिक दृष्टिकोण भित्र्याउने लक्ष्यका साथ रास्वपाले उनलाई उम्मेदवार बनाएको हो ।