१ करोड २ लाख मतपत्र छपाइ, प्रत्यक्षतर्फको चुनाव चिन्ह दिएपछि छापिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।

केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार मतपत्र छपाइ भएको हो । निर्वाचन आयोगले उपलब्ध गराएको समानुपातिकतर्फको कूल २ करोड ८ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ । केन्द्रले हालसम्म ५० प्रतिशत मतपत्रको छपाइ गरिसकेको छ ।

यस्तै, केन्द्रले आयोगलाई कूल १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको छ । केन्द्रले पछिल्लो २४ घण्टामा १ हजार ४३१ बाकस मतपत्रको प्याकिङ समेत सम्पन्न गरेको छ । कूल ७ हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको र १२ हजार ९८९ बाकस भने बाँकी छ ।

प्रत्यक्षतर्फको मतपत्र भने उम्मेदवारको मनोनयन, दाबी विरोधको प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकेपछि सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

Share News