६ महिनामा वीरगञ्ज भन्सारले उठायो १ खर्ब १६ अर्ब राजस्व, २ खर्ब ७३ अर्बको लक्ष्य

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा १ खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब १ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै हुने राजस्व सङ्कलन उत्साहजनक भएको बताए । 

कार्यालयले गत साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ र मङ्सिरमा भने २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पुसमा पनि २० अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको  छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

Share News