काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
जेनजी आन्दोलनको निहुँमा छद्म ढंगले प्रतिनिधिसभा विघटन गरिएको र फेरि उही प्रकृतिको निर्वाचनतर्फ मुलुक धकेलिन लागेको ठहर गर्दै आफू उम्मेदवार नबन्ने मनस्थितिमा पुगेको उनले जानकारी दिए ।
बलायरले प्रतिनिधिसभा फेरि पनि विघटन नहुने स्पष्ट र विश्वसनीय ग्यारेन्टी नरहेको अवस्थामा त्यस्तो सभामा उम्मेदवार बन्नु उपयुक्त नहुने बताएका छन् ।
‘बारम्बार प्रतिनिधिसभा विघटनको अभ्यासले लोकतान्त्रिक प्रणालीप्रति जनविश्वास कमजोर बनाएको छ,’ उनले भने, ‘त्यसै कारण यस पटक म निर्वाचनमा नउत्रिने निर्णयमा पुगेको हुँ ।’
उनका अनुसार यो निर्णयबारे यसअघि नै पार्टी नेतृत्वलाई जानकारी भइसकेको छ ।
‘मैले कार्त्तिक महिनामै पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नो धारणा र निर्णय अवगत गराएको हुँ,’ बलायरले स्पष्ट पारे ।