काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुँदै गरेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १५६ क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाइसकेको बताएको छ ।
मंगलबार (आज) मनोनयन दर्ता सुरु भएको दिन कांग्रेसले उम्मेदवार छनोटको कामलाई निरन्तरता दिएको छ । यसअघि संसदीय बोर्ड र पार्टी उच्च नेतृत्वको बैठकपछि अधिकांश क्षेत्रका उम्मेदवारहरू टुंगो लागेको सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।
हालै टुंगो लागेको सूचीअनुसार पार्टीका अनुभव नेता र युवा सदस्यहरू दुबैलाई सन्तुलित तरिकाले उम्मेदवार बनाइएको छ । पार्टीले अधिकांश उम्मेदवारी टुङ्ग्याएको छ, बाँकी केहीबेरमै टुङ्ग्याउने स्नेहीको दाबी छ ।
अहिले पनि ९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार चयन हुन बाँकी छ । कांग्रेसले चाँडै यी क्षेत्रका उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको स्नेहीले जानकारी दिए ।




