काठमाडौं । आगामी निर्वाचनको सरगर्मी सुरु भएसँगै पूर्वमन्त्रीहरू पनि कम्मर कसेर चुनावी मैदानमा उत्रिएका छन् । कोही नयाँ पार्टीबाट त कोही आफ्नै पुरानो विरासत जोगाउन लागि परेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ मा यसपटक निकै रोचक प्रतिस्पर्धा हुने भएको छ । निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस क्षेत्रबाट चुनाव लड्ने भएका छन् । चुनावमा होमिनकै लागि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
घिसिङलाई टक्कर दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजुनाथ पाण्डे मैदानमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाको प्रहरी प्रमुखबाट राजीनामा दिएर पाण्डे राजनीतिमा होमिएका हुन् ।
दुई एक्सन ओरिएन्टेड व्यक्तित्वहरूबीचको यो प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी चुनावी मैदानमा होमिएका हुन् ।
यस्तै, निवर्तमान शिक्षामन्त्री महावीर पुनले म्याग्दीबाट चुनाव लड्ने भएका छन् । मंगलबार बिहान मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यसअघि उनले शिक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
यसैगरी, सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बब्लु गुप्ता चुनावी मैदानमा होमिएका छन् । उनले उम्मेदवारी दर्ता गराइसकेका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी खेलकुदमन्त्री बनेका थिए ।
उनले निर्वाचनमा सहभागी हुनका लागि खेलकुदमन्त्री पदबाट राजीनामा दिएका थिए।
पूर्वस्वास्थ्य र शिक्षामन्त्रीहरू चुनावी मैदानमा, क-कसले दिए उम्मेदवारी ?