काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
धरान उपमहानगरपालिकाका पूर्वनगर प्रमुखसमेत रहेका उनले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार अध्यक्ष राईले धरान उपमहानगरपालिका-८ स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भइरहेको छ ।
जिल्लाभर कूल पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम रहेका छन् । जसका लागि १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।